मेलौलीका विपन्न सुनौला १००० दिनका आमालाई ७ लाख अनुदान वितरण

बैतडीको मेलौली नगरपालिका–०३ र ०५ का विपन्न सुनौला १००० दिनका आमाहरूलाई लक्षित गर्दै पोषण सुधार, पूर्ण सरसफाइ, स्वच्छता तथा आयआर्जन सम्बन्धी एकदिने तालिम सम्पन्न गरिएको छ।

मेलौली नगरपालिकाको सभाहलमा आज सम्पन्न तालिम मेलौली नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। तालिमको अध्यक्षता निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भिम बहादुर चन्द रहनुभएको थियो।

तालिममा सुनौला १००० दिनका आमाहरूको पोषण अवस्था सुधार, सन्तुलित आहारको महत्व, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, बाल तथा मातृ स्वास्थ्य, सुरक्षित खानेपानीको प्रयोग र आयआर्जनमार्फत परिवारको आर्थिक अवस्था सुदृढ बनाउने विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा सहभागी आमाहरूलाई आयआर्जनमा टेवा पुग्ने उद्देश्यले अनुदानसमेत वितरण गरिएको छ।

मेलौली नगरपालिका–०३ र ०५ का १४/१४ जना गरी २८ जना विपन्न सुनौला १००० दिनका आमालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले कुल ७ लाख रुपैयाँ अनुदान प्रदान गरिएको बहुक्षेत्रीय पोषण शाखाकी पोषण सहजकर्ता लक्ष्मी भट्टले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख भिम बहादुर चन्दले सुनौला १००० दिनको अवधिलाई बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त महत्वपूर्ण समय भएकाले यस अवधिमा आमाहरूको पोषण र सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँले प्रदान गरिएको अनुदानलाई उत्पादनमूलक तथा आयआर्जनका गतिविधिमा सदुपयोग गर्न आग्रह गर्नुभयो।

नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.