बैतडीको मेलौली नगरपालिकाका सम्पूर्ण वडाहरू पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ नगरपालिकाभित्रका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै खोप १६ देखि २३ महिनासम्मका बालबालिकाले प्राप्त गरेको सुनिश्चित भएपछि सम्बन्धित वडाहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको मेलौली नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत भोज बहादुर चन्दले बताउनुभयो। पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, आमा समूह तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको चन्दले बताउनुभयो।
घरधुरी सर्वेक्षण, अभिलेख प्रमाणीकरण तथा खोप छुटेका बालबालिकाको पहिचान गरी खोप सेवामा पहुँच सुनिश्चित गरिएपछि घोषणा प्रक्रिया पूरा गरिएको बताइएको छ। यस अभियानले बालबालिकालाई खोपबाट बचाउन सकिने विभिन्न रोगबाट सुरक्षित राख्न मद्दत पुग्नुका साथै नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आगामी दिनमा पनि पूर्ण खोपको अवस्थालाई दिगो बनाइ राख्न नियमित अनुगमन, अभिलेख अद्यावधिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।