बैतडीको मेलौली नगरपालिका–१ देहीका घाँटीको क्यान्सरबाट पीडित नरेन्द्र सिंह नायकको उपचारमा आर्थिक समस्या देखिएको छ। आर्थिक अवस्था कमजोर भएका नायकको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएपछि उपचारमा समस्या भएको हो।
लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका नायकले विभिन्न चरणमा साना तथा ठूला शल्यक्रियामार्फत उपचार गराउँदै आएका छन्। हाल चिकित्सकले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल तेस्रो चरणको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।
हाल काठमाडौं क्यान्सर सेन्टरमा उपचाररत नायकको शल्यक्रिया तथा थप उपचारका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने चिकित्सकले बताएका छन्। आर्थिक अभावका कारण उपचार प्रक्रिया अगाडि बढाउन कठिनाइ भएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन्।
नायकको उपचारमा सहयोग जुटाउने उद्देश्यले सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ। अभियानमार्फत देश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था तथा सहयोगी मन भएका सबैलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।
समयमै उपचार हुन सके नायकको स्वास्थ्यमा सुधार आउने चिकित्सकको विश्वास रहेको भन्दै मानवीय भावनाका साथ सहयोगका लागि सबैमा अपिल गरिएको अभियन्ता प्रकाश सिंह नायकले जानकारी दिनुभयो। उहाँले सानो–सानो सहयोगले पनि बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने भएकाले सहयोगी हातहरू अघि बढाइदिन अनुरोध गर्नुभएको छ।
सहयोग गर्न तथा थप बुझ्नु परेमा तलकाे नम्बरमा सम्पर्क गर्नुहाेला।
