बैतडीको पञ्चेश्वर गाउँपालिकामा परियोजना लाभान्वित कृषकहरूका लागि बेमौसमी तरकारी उत्पादन सम्बन्धी दुईदिने तालिम आजदेखि सुरु भएको छ।
पञ्चेश्वर गाउँपालिका जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाको आयोजनामा सञ्चालन गरिएको तालिम भोलिसम्म जारी रहने आयोजकले जनाएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीलाई मध्यनजर गर्दै कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने तथा आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा बेमौसमी तरकारी खेतीका आधुनिक प्रविधि, उन्नत बीउ छनोट, नर्सरी व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, मलखादको उचित प्रयोग, सिँचाइ व्यवस्थापन तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गरिनेछ। साथै जलवायु अनुकूल कृषि अभ्यास तथा उत्पादन लागत घटाउँदै गुणस्तरीय उत्पादन बढाउने उपायबारे पनि जानकारी दिइने कार्यक्रम रहेको छ।
तालिममा परियोजनाबाट लाभान्वित विभिन्न वडाका कृषकहरूको सहभागिता रहेको छ। सहभागी कृषकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी व्यावसायिक तरकारी खेती विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
आयोजकका अनुसार कृषकहरूलाई आत्मनिर्भर बनाउने, कृषि उत्पादन वृद्धि गर्ने तथा ग्रामीण समुदायको आर्थिक अवस्था सुधार गर्न यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।
तालिमको समापनपछि सहभागी कृषकहरूलाई आवश्यक प्राविधिक सुझाव तथा परामर्श सेवा समेत उपलब्ध गराइने जनाइएको छ।