नवनियुक्त कर्मचारीलाई पञ्चेश्वर गाउँपालिकाको भव्य स्वागत

बैतडीको पञ्चेश्वर गाउँपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी र वरिष्ठ लेखा सहायक केशब राज भट्ट लाई आज भव्य रूपमा स्वागत गरेको छ।

गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थितिमा दुवै कर्मचारीलाई स्वागत गरिएको हो। गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले नवनियुक्त भई गाउँपालिकामा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत भण्डारी र वरिष्ठ लेखा सहायक भट्टलाई औपचारिक रूपमा स्वागत गरिएको जानकारी दिनुभयो।

गाउँपालिका उपाध्यक्ष बिना भट्टले कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा स्वागत कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो। उहाँले नयाँ जिम्मेवारीसहित गाउँपालिकामा आउनुभएका कर्मचारीहरूको अनुभव र कार्यक्षमताले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले प्रशासकीय सुदृढीकरण, सुशासन प्रवर्द्धन, वित्तीय अनुशासन तथा समग्र विकासका लक्ष्य हासिल गर्न नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत र वरिष्ठ लेखा सहायकको अनुभव, विज्ञता र नेतृत्वदायी भूमिकाले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ। स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीसँग समन्वय गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी प्रशासन सञ्चालनमा आफू प्रतिबद्ध रहने बताउनुभयो।

यस्तै वरिष्ठ लेखा सहायक भट्टले गाउँपालिकाको आर्थिक व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा आफ्नो भूमिका सक्रिय रहने धारणा राख्नुभयो। स्थानीय तहको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिबीच सहकार्यको वातावरण निर्माण गर्दै विकास निर्माणका कार्यलाई तीव्रता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.