बैतडीको शिवनाथमा आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूको क्षमता विकास सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम सञ्चालन गरिएको हो।
कक्षाकोठाको शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो। उहाँले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले विद्यालय शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
तालिममा आधारभूत तथा माध्यमिक तहमा अध्यापन गरिरहेका शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा आधुनिक शिक्षण विधि, विद्यार्थी केन्द्रित सिकाइ, पाठयोजना निर्माण, निरन्तर मूल्याङ्कन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग तथा सूचना प्रविधिको उपयोगलगायत विषयमा सहजीकरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।
तालिममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारमा उतारेर विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न प्रतिबद्धता जनाएका छन्। उनीहरूले यस्ता तालिमले शिक्षण पद्धतिमा नवीनता ल्याउन र अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गरेको बताएका छन्।
गाउँपालिकाले आगामी दिनमा पनि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षामा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।