शिव आधारभूत विद्यालयका १०८ विद्यार्थीलाई झोला वितरण

बैतडी-बैतडीको मेलौली नगरपालिका–०९ असुरमा रहेको शिव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको छ। कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कपडा बैंक बैतडीको पहलमा विद्यालयका १०८ जना विद्यार्थीलाई झोला वितरण गरेको हो।

दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँचलाई सहज बनाउने तथा अध्ययनप्रति थप उत्साह जगाउने उद्देश्यले झोला वितरण गरिएको कपडा बैंक बैतडीका संयोजक महेश दत्त भट्टले जानकारी दिनुभयो। उनकन अनुसार कृषि विकास बैंकले विभिन्न जिल्लाका दुर्गम तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई लक्षित गरी यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

झोला वितरण कार्यक्रममा मेलौली नगरपालिका–०९ का वडा अध्यक्षसहित वडा सदस्यहरू, कृषि विकास बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश वरिष्ठ अधिकृत नारद बोकटी, बैतडी शाखाका प्रबन्धक मोहित खडका, पाटन शाखाका प्रबन्धक ओमराज उपाध्याय, कपडा बैंक बैतडीका संयोजक महेश दत्त भट्ट तथा स्थानीय अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका थिए। विद्यालय प्रशासनले कृषि विकास बैंक लिमिटेड र कपडा बैंक बैतडीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा गरेको छ।

सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कृषि विकास बैंक लिमिटेडले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.