बैतडी-बैतडीको पञ्चेश्वरमा विद्यालयस्तरका किशोर–किशोरीलाई परिचालन गर्दै पोषण अभियान सुरु गरिएको छ। “विद्यालयमा किशोर–किशोरीमार्फत पोषण अभियान सञ्चालन” भन्ने नारासहित पञ्चेश्वर गाउँपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रम बैतडीको आयोजनामा अभियान सञ्चालन गरिएको हो।
अभियान अन्तर्गत सोमबार पञ्चेश्वर गाउँपालिका–५ स्थित नागार्जुन माध्यमिक विद्यालय गिरेगाडामा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा किशोर–किशोरीहरूलाई पोषण, स्वास्थ्य तथा सरसफाइका विषयमा जानकारी दिँदै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न प्रेरित गरिएको थियो।
कार्यक्रममा आइरन चक्की सेवनको महत्व, किशोरावस्थामा आवश्यक पोषण, जुकाको औषधि सेवन, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग, सन्तुलित भोजन तथा पोषणयुक्त स्थानीय खाद्यवस्तुको उपयोगबारे जानकारी गराइएको थियो। साथै बालविवाह न्यूनीकरण, छाउपडी प्रथा अन्त्य, महिनावारी स्वास्थ्य व्यवस्थापन तथा स्वस्थ जीवनशैली सम्बन्धी विषयमा समेत सचेतना प्रदान गरिएको थियो।
ग्रामीण तथा विद्यालय क्षेत्रमा पोषणको अवस्था सुधार गर्दै सन्तुलित खानपानप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। विद्यालय उमेरका किशोर–किशोरीहरू आफैँ सचेत भई आफ्नो परिवार र समुदायमा पोषणसम्बन्धी सही सन्देश प्रवाह गर्न सकून् भन्ने लक्ष्यका साथ कार्यक्रमको रूपरेखा तयार पारिएको बताइएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय तहबाटै पोषण र स्वास्थ्यसम्बन्धी ज्ञान प्रवाह गर्दा समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
पोषण सहजकर्ता नारायण चौडलाले किशोर–किशोरीलाई पोषण अभियानको प्रमुख संवाहकका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले कुपोषण न्यूनीकरण, स्वास्थ्य प्रवर्द्धन र सामाजिक विकृति अन्त्यका लागि विद्यालय केन्द्रित अभियान प्रभावकारी हुने बताउनुभयो।
गाउँपालिकाले आगामी दिनहरूमा पनि पोषण, स्वास्थ्य, खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै विद्यालय र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने जनाएको छ। अभियानले किशोर–किशोरीमा पोषणसम्बन्धी ज्ञान वृद्धि हुनुका साथै परिवार र समुदायमा समेत सकारात्मक सन्देश पुग्ने अपेक्षा गरिएको छ।