बैतडीको मेलौली नगरपालिकामा २२ हप्ते नवप्रवेशी शिक्षक मेन्टरिङ कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिकाका ७ वटा विद्यालयमा सञ्चालन गरिएको २२ हप्ते नवप्रवेशी शिक्षक मेन्टरिङ (Teacher Mentoring) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नवप्रवेशी शिक्षकहरूको शिक्षण सिकाइ क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम समापन समारोह शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीको अध्यक्षता तथा मेलौली नगरपालिका नगरप्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा मेलौली नगरपालिकाभित्रका ७ वटा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले जानकारी दिइन्। कार्यक्रम अवधिभर नवप्रवेशी शिक्षकहरूलाई शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, विद्यार्थी केन्द्रित सिकाइ तथा शैक्षिक गुणस्तर सुधारका विषयमा आवश्यक मार्गदर्शन तथा सहजीकरण गरिएको थियो।

समापन कार्यक्रममा सहभागीहरूले मेन्टरिङ कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षण सिकाइ प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो।

मेलौली नगरपालिकाले आगामी दिनमा पनि शैक्षिक गुणस्तर सुधार र शिक्षकहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.