बैतडी-बैतडी को मेलौली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को अन्त्य नजिकिँदै गर्दा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिन समेत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
सेवाग्राहीको चाप तथा आर्थिक वर्षको अन्त्यतिर सम्पन्न गर्नुपर्ने प्रशासनिक तथा विकास निर्माणसम्बन्धी कार्यलाई मध्यनजर गर्दै असार १० गतेदेखि असार मसान्तसम्म नगरपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालयहरू सार्वजनिक बिदाका दिन समेत खुला रहने प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले बताउनुभयो। असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट गरिएको हो।
निर्णयअनुसार नगरपालिकाका सबै शाखा तथा वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई सार्वजनिक बिदाका दिन समेत नियमित रूपमा कार्यालयमा उपस्थित भई तोकिएको जिम्मेवारी निर्वाह गर्न अनुरोध गरिएको छ। नगरपालिकाले राजस्व संकलन, योजना तथा कार्यक्रमको भुक्तानी, प्रशासनिक सेवा प्रवाह, सिफारिस तथा अन्य अत्यावश्यक कार्यहरू समयमै सम्पन्न गर्न कार्यालय सञ्चालनको व्यवस्था मिलाइएको जनाएको छ।
नगरपालिकाले सेवाग्राहीहरूलाई आवश्यक कामकाजका लागि कार्यालय समयमै सम्पर्क गर्न आग्रह गर्दै आर्थिक वर्षको अन्त्यमा हुने कार्यचापलाई व्यवस्थापन गर्न सबै कर्मचारी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ।