बैतडी-बैतडीको मेलौलीमा नगरस्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। विज्ञान विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने तथा वैज्ञानिक सोचको विकास गराउने उद्देश्यले मणिलेक नमुना माध्यमिक विद्यालयको विज्ञान विषय प्रवर्धन कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा मेलौली नगरपालिका भित्रका माध्यमिक तहका १२ वटा विद्यालयहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौलीले जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए।
मणिलेक नमुना माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिता विज्ञान शिक्षक नेटवर्क संयोजक रमेश कुमार जोशीको अध्यक्षता तथा मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतियोगितामा आयोजक विद्यालय मणिलेक नमुना माध्यमिक विद्यालय प्रथम भएको छ। त्यसैगरी प्रितिपुर माध्यमिक विद्यालय द्वितीय, शीतलपुर माध्यमिक विद्यालय तृतीय तथा विशालपुर माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
विजेता विद्यालयहरूलाई क्रमशः प्रथमलाई ५ हजार १ सय, द्वितीयलाई ४ हजार २ सय, तृतीयलाई ३ हजार ३ सय र सान्त्वना स्थान प्राप्त विद्यालयलाई २ हजार १ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा शाखा प्रमुख क्षेत्रीले विज्ञान शिक्षाले विद्यार्थीहरूमा सिर्जनशीलता, अनुसन्धान क्षमता र समस्या समाधान गर्ने सीपको विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालय तहदेखि नै विज्ञान तथा प्रविधिप्रति आकर्षण बढाउन यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने आयोजक विद्यालयका प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो।