कक्षा १–३ का शिक्षकका लागि २ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सुरु

बैतडी-बैतडीको मेलौली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने शिक्षकहरूका लागि दुई दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम आइतबारदेखि सुरु भएको छ।

मेलौली नगरपालिकाको सभाहलमा सञ्चालन भएको तालिमको उद्घाटन शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।तालिममा सहजकर्ताका रूपमा रमेश दत्त बाग र नारायण जोशीले सहजीकरण गरिरहेका छन्।आज र भोलि सञ्चालन हुने तालिममा नगरपालिकाभित्रका कक्षा १–३ मा अध्यापनरत शिक्षकहरूको सहभागिता रहेको छ।

तालिममार्फत प्रारम्भिक तहको एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, सहभागितामूलक तथा अन्तरक्रियात्मक शिक्षण विधि, कार्यशालामा आधारित अभ्यास तथा विद्यार्थीको समग्र विकासमा केन्द्रित सिकाइ प्रक्रिया सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गरिने आयोजकले जनाएको छ।

यस तालिमबाट शिक्षकहरूको पेशागत क्षमता विकास भई कक्षाकोठामा सिकाइलाई थप प्रभावकारी, व्यवहारमुखी र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने विश्वास लिएको क्षेत्रीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.