बैतडी-बैतडीको मेलौली नगरपालिकाले स्थानीय तहमा हुने विवादलाई समुदायस्तरमै छिटो, सहज र प्रभावकारी रूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाका ९ वटै वडामा कार्यरत मेलमिलापकर्ताहरूका लागि दुई दिने पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
मेलौली नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको उक्त कार्यक्रममा ९ वटै वडाका सूचीकृत मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ। कार्यक्रम मार्फत मेलमिलापकर्ताहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, नागरिकमैत्री र विश्वासिलो बनाउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत न्यायिक समितिको अधिकार क्षेत्र, मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, विवाद समाधानका सिद्धान्त, मध्यस्थता प्रक्रिया, मेलमिलापकर्ताको भूमिका, आचारसंहिता, अभिलेख व्यवस्थापन तथा व्यवहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
साथै, मेलमिलापका क्रममा देखिएका चुनौती, अनुभव आदानप्रदान र समाधानका प्रभावकारी उपायबारे अन्तरक्रियात्मक छलफल समेत गरिने कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर तथा न्यायिक समितिका उजुरी प्रशासक महेन्द्रसिंह नायकले जानकारी दिनुभयो ।
कार्यक्रममा अधिवक्ता हरि दत्त भट्टले प्रशिक्षण दिइरहनुभएको छ। उहाँले स्थानीय सरकार सञ्चालन ऐन, न्यायिक समितिको कार्यप्रणाली, मेलमिलापसम्बन्धी कानुनी व्यवस्था, मध्यस्थता प्रक्रिया, विवाद समाधानका व्यवहारिक विधि, मेलमिलापकर्ताको आचारसंहिता, अभिलेख व्यवस्थापन तथा समुदायमा मेलमिलापको प्रभावकारी अभ्यासका विषयमा सहजीकरण गरिरहनुभएको छ। प्रशिक्षणलाई व्यवहारमुखी बनाउन वास्तविक घटनामा आधारित उदाहरण, समूहगत अभ्यास तथा अन्तरक्रियात्मक छलफलसमेत समावेश गरिएको छ।
मेलौली नगरपालिकाका ९ वटै वडामा कार्यरत मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गरी स्थानीय न्याय प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको न्यायिक समितिका उजुरी प्रशासक महेन्द्रसिंह नायकले बताउनुभयो। उहाँका अनुसार न्यायिक समितिमा दर्ता हुने अधिकांश विवाद मेलमिलाप प्रक्रियाबाट समाधान हुने भएकाले समयानुकूल कानुनी ज्ञान, व्यवहारिक सीप तथा प्रक्रियागत दक्षता अभिवृद्धि गर्न यस्तो कार्यक्रम आवश्यक रहेको हो।
उहाँले तालिमबाट प्राप्त ज्ञान र अनुभवले मेलमिलापकर्ताहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै समुदायमै विवाद समाधानको संस्कृतिलाई मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
मेलौली नगरपालिकाले स्थानीय न्याय प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ समय–समयमा क्षमता विकास, अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।