दलित समुदायको आर्थिक सशक्तीकरणका लागि मेलौलीमा विशेष तालिम सुरू

बैतडीको मेलौलीमा दलित लक्षित विशेष अनुदान कार्यक्रमअन्तर्गत ५ दिने उद्यमशीलता विकास तथा व्यवसाय सुधार तालिम सुरु भएको छ।

मेलौली नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा नगरपालिकाका ९ वटै वडाका आरन (फलामे काम गर्ने) तथा सिलाइ व्यवसायमा संलग्न व्यवसायीहरूको सहभागिता रहेको छ। व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र आम्दानीमुखी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक सुरेन्द्र ओडले जानकारी दिनुभयो।

तालिमको उद्घाटन मेलौली नगरपालिकाका नगर प्रमुख भिमबहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले दलित समुदायको आर्थिक सशक्तीकरण नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो।

सीप, प्रविधि र व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञानले स्थानीय व्यवसायलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिममा उद्यम सञ्चालन, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, ग्राहक सेवा, बजार व्यवस्थापन, उत्पादनको गुणस्तर सुधार, व्यवसाय विस्तारका उपाय तथा आधुनिक प्रविधिको प्रयोग लगायतका विषयमा सहजीकरण गरिने जनाइएको छ।

नगरपालिकाले सीपमा आधारित व्यवसायलाई प्रवर्द्धन गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, स्वरोजगार बढाउने र दलित समुदायको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। ५ दिनसम्म सञ्चालन हुने तालिमबाट सहभागीहरूले आफ्नो व्यवसायलाई थप व्यवस्थित, प्रभावकारी र आयआर्जनमुखी बनाउन आवश्यक ज्ञान तथा सीप हासिल गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.