बैतडी: पञ्चेश्वर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। “ पूर्णखोप हाम्रो भविष्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
पञ्चेश्वर गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रमका अध्यक्ष गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्यसँग जोडिएको महत्वपूर्ण अभियान भएकाले यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य निरन्तर हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले पूर्णखोप सुनिश्चितता अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
गाउँपालिका अन्तर्गत रहेका छ वटै स्वास्थ्य चौकी बाट बालबालिकाले नियमित खोप सेवा प्राप्त गर्दै आएका छन्। गाउँपालिकाका छ वटै वडामा यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सम्पन्न भइसकेको थियो।