बैतडीः पुख्र्यौली घर बैतडी भएका पुर्वडिआइजी अर्जुन चन्दको निधन भएको छ।
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्दको आज बिहान उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो। पुख्र्यौली घर बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० भएका चन्द हाल ललितपुर महानगरपालिका–१८, नख्खु सिर्जनामार्गमा बस्दै आएका थिए।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार चन्द असार ५ गते एक्कासि लडेर घाइते भएका थिए। तत्काल अस्पताल पु¥याई उपचार गरिएपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको थियो। तर असार १० गते पुनः स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई फेरि अस्पतालमा भर्ना गरिएको थियो।
आईसीयूमा उपचाररत रहेका पूर्वडिआइजी चन्दको आज बिहान ६ बजेर ५५ मिनेटमा निधन भएको प्रहरीले जनाएको छ। चन्दको निधनप्रति नेपाल प्रहरी संगठनसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। चन्दले २०८१ मंसिरमा नेपाल प्रहरीबाट अवकाश प्राप्त गरेका थिए।