बैतडी: पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा २३ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो करिब ३:३० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बैतडी र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य गरेको थियो। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको छ।
घाइतेमध्ये अवस्था गम्भीर रहेका ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। रिफर हुनेहरूमा पाटन नगरपालिका–६ का ३१ वर्षीय दिपक वि.क., पाटन–६ का ४३ वर्षीय जनक प्रसाद पन्त, पाटन–८ का ४६ वर्षीय रामदत्त पाण्डे, पाटन–६ का ११ वर्षीय सिद्धार्थ भण्डारी, बस चालक पाटन–३ का ३१ वर्षीय दिनेश भाट, पाटन–६ का ३१ वर्षीय महोन पन्त तथा पाटन–६ की ३५ वर्षीया धना पहरी रहेका छन्।
अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अधिकांश घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनीहरूको अवस्था चिकित्सकको निगरानीमा रहेको बताइएको छ।
बस दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। प्राविधिक समस्या, सडकको अवस्था वा अन्य कारणमध्ये कुन कारणले दुर्घटना भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
दशरथचन्द राजमार्गमा बेलाबेला हुने सवारी दुर्घटनाले यात्रुको सुरक्षाप्रति गम्भीर प्रश्न उठाउँदै आएको छ। स्थानीयले जोखिमयुक्त सडकखण्डमा आवश्यक मर्मत, सुरक्षा व्यवस्थापन तथा सावधानीका उपाय प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।