जन्मदिनको‌ उपलक्ष्यमा कुन्ती भट्टद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

बैतडी-जन्मदिनलाई फजुल खर्च र तडकभडकभन्दा सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ परोपकार ग्रामीण संघ पाटनमा कार्यरत कुन्ती भट्टले आफ्नो जन्मदिनको अवसरमा श्रीकृष्ण माध्यमिक विद्यालय, पाटनमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ।

भट्टले जन्मदिनमा भोजभतेर तथा अनावश्यक खर्च गर्नुको सट्टा बालबालिकाको शिक्षामा सानो भए पनि योगदान पुर्‍याउने उद्देश्यले कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको बताउनुभयो। उहाँका अनुसार यस्ता सहयोगले विद्यार्थीमा पढाइप्रति थप उत्साह र अभिप्रेरणा मिल्ने विश्वास लिइएको छ।

श्रीकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापकले भट्टको यो कार्यको प्रशंसा गर्दै जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने सोच सबैका लागि प्रेरणादायी भएको बताउनुभयो। विद्यालय परिवारले उहाँप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

स्थानीय स्तरमा जन्मदिनलाई सेवामूलक कार्यसँग जोड्दै गरिएको यस अभियानले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सामाजिक उत्तरदायित्वको भावनासहित गरिएको यस्तो कार्यले अन्य व्यक्तिलाई पनि आफ्नो खुसीको अवसर समाजसँग बाँड्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.