सहयोगी मनहरूको साथले बच्यो जीवन, सेतु तिर्वाको स्वास्थ्यमा सुधार

बैतडीको शिवनाथ गाउँपालिका–२ निवासी स्तन क्यान्सर पीडित सेतु तिर्वाको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चालन गरिएको आर्थिक संकलन अभियान सम्पन्न भएको छ।

उपचारका लागि आवश्यक आर्थिक अभाव भएपछि सञ्चालन गरिएको उक्त अभियानबाट नेपाल र भारत लगायत विभिन्न स्थानबाट उल्लेखनीय सहयोग प्राप्त भएको अभियानका संयोजक सुरत कुमार पार्कीले जानकारी दिनुभयो। अभियानमार्फत नेपालबाट १ लाख ६२ हजार ८५३ रुपैयाँ तथा भारतबाट ७९ हजार २०० भारतीय रुपैयाँ संकलन भएको छ। नेपाली र भारतीय रकमको हिसाब गर्दा अभियानबाट करिब २ लाख ८९ हजार ५७३ रुपैयाँ बराबरको सहयोग जुटेको बताईएकाे छ।

संकलित रकमबाट भारतको मुम्बईस्थित केएचएम अस्पतालमा तिर्वाको उपचार गरिएको थियो। तिर्वाकाे शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जनाएको छ।

उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, शुभेच्छुक, सामाजिक अभियन्ता तथा अभियानलाई विभिन्न माध्यमबाट साथ दिने सबैप्रति अभियान टोलीले हार्दिक आभार व्यक्त गरेको छ। समयमै प्राप्त भएको सहयोगले एक बिरामीको उपचार सम्भव भएको भन्दै यस्ता मानवीय अभियानमा देखिएको एकता र सद्भावले समाजमा मानवताको भावना अझ बलियो बनेको अभियान टोलीको विश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.