शिवनाथमा मकै भण्डारण लागि बनाएको पोल भाँचिदा एक किशोरी घाइते, पालिकाले उपभोक्ता समितिलाई डाक्यो

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडी टोलमा मकै भण्डारणका लागि बनाइएको सिमेन्टको पोल भाँचिँदा १५ वर्षीया एक किशोरी गम्भीर घाइते भएकी छन् ।

स्थानीय लालसिंह धनाडीकी छोरी काजल धनाडी घाइते भएकी हुन् । गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरेको पोल भाँचिदा उक्त घटना भएको बताइएको छ ।

करीब एक साता अगाडि उक्त घटना भएको शिवनाथ गाउँपालिका–६ का वडा अध्यक्ष भरतराम पार्कीले बताउनुभयो । घाइते धनाडीको दुवै खुट्टामा २५ वटा टाँका लागेको बताइएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा तीन÷चार दिन भर्ना गरेर उनको उपचार गरिएको र अहिले घरमा पठाएको स्वास्थ्य केन्द्रले जनाएको छ । काँजलको खुट्टामा लगाएको टाँका काट्न बाँकी रहेको बताइएको छ ।

घटनापछि शिवनाथ गाउँपालिकाले उपभोक्ता समितिलाई कार्यालयमा बोलाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै वडा नं ६ मा बसेडी एक घर एक पोल निर्माण योजनाबाट बनेको पोल भाँचिदा दुर्घटना भएकाले उपभोक्ता समितिलाई साउन १ गते कार्यालयमा उपस्थित हुन भनेको छ।

बसेडीमा १७ ओटा पोल निर्माणका लागि १ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको काम सम्पन्न भएको जनाइएको छ । तर पोल निर्माणका बिषयमा बुझ्दा निर्माणको क्रममा लापरवाही भएको देखिन आएकाले उपभोक्ता समितिका अध्यक्ष लगायत सचिव र कोषाध्यक्षलाई गाउँपालिकामा बोलाएको हो ।
स्थानीयबासीले पोलको गुणस्तरका बिषयमा प्रश्न उठाएका छन् । अधिकांश स्थानीयहरुले सामाजिक सञ्जालमार्फत उक्त घटना गुणस्तरीय पोल निर्माण नभएकै कारण भएकाले निष्पक्ष छानबीन गरि दोषीमाथि कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।

Open photo

Leave A Reply

Your email address will not be published.