बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक, सार्वजनिक सुनुवाइ, आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना प्रस्तुति तथा डिजिटल एक्स–रे सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।
वडा.नं-१ का वडा अध्यक्ष दिवान सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष विना भट्ट विशिष्ट अतिथि रहेका थिए। स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख सुरेश साकीले आर्थिक वर्ष २०८२र०८३ मा स्वास्थ्य चौकीबाट प्रदान गरिएका स्वास्थ्य सेवा, सञ्चालन गरिएका कार्यक्रम तथा प्राप्त उपलब्धिबारे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रस्तुत विवरणअनुसार सो अवधिमा स्वास्थ्य चौकीबाट जम्मा ७ हजार ३९४ जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। तीमध्ये ४ हजार ६८९ जना महिला र २ हजार ७०५ जना पुरुष रहेका छन्।
उक्त तथ्यांकले स्वास्थ्य चौकीप्रति स्थानीय नागरिकको पहुँच र विश्वास बढ्दै गएको देखाएको स्वास्थ्य चौकी प्रमुख सार्कीले बताए ।।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय नागरिकले स्वास्थ्य सेवा प्रवाह, औषधिको उपलब्धता, जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास तथा सेवा विस्तारका विषयमा आफ्ना जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए।
उठाइएका प्रश्नको गाउँपालिका नेतृत्व, स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीका प्रतिनिधिहरूले जवाफ दिँदै प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेटेर स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य चौकीको वार्षिक कार्ययोजना पनि सार्वजनिक गरिएको थियो। आगामी वर्ष मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, नसर्ने रोगको रोकथाम, प्रयोगशाला सेवा तथा आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको थियो।
साथै कार्यक्रमा स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन हस्तान्तरण गरी औपचारिक रूपमा सेवा शुभारम्भ गरिएको छ।
अबदेखि सामान्य एक्स–रे परीक्षणका लागि स्थानीय नागरिकले जिल्ला सदरमुकाम वा अन्य अस्पताल पुग्नुपर्ने बाध्यता धेरै हदसम्म हट्ने अपेक्षा गरिएको छ। यस सेवाले हड्डी, छाती तथा अन्य रोगको समयमै परीक्षण र उपचारमा सहजता ल्याउनुका साथै सेवाग्राहीको समय र खर्चसमेत बचत हुने विश्वास व्यक्त गरिएको छ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले नागरिकलाई आफ्नै पालिकाभित्र आधुनिक, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा आवश्यक लगानीलाई निरन्तरता दिइएको बताए।
उनले डिजिटल एक्स–रे सेवा सञ्चालनसँगै स्थानीय नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य संस्थालाई आवश्यक उपकरण, पूर्वाधार र जनशक्तिले थप सुदृढ बनाइने उल्लेख गरे।
विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विना भट्टले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको बताइन्। उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै नागरिकले आफ्नै स्थानीय तहबाट भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने धारणा राखिन्।
स्वास्थ्य चौकी प्रमुख सुरेश साकीले स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन उपलब्ध गराइदिएकोमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं १ का वडा अध्यक्ष, स्वास्थ्य शाखा तथा गाउँपालिकाप्रति आभार व्यक्त गरे। उनले उपलब्ध उपकरणलाई पूर्ण क्षमताका साथ सञ्चालन गरी सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्पूर्ण स्वास्थ्यकर्मी प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीले डिजिटल एक्स–रे सेवा सञ्चालनसँगै पञ्चेश्वर गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आधुनिक स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना भएको भन्दै गाउँपालिकाको पहलको प्रशंसा गरेका थिए।
कार्यक्रमको समापनमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।