दार्चुला-जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा जारी साउन २ गते सार्वजनिक गरेको सूचना अनुसार साउन २ गते शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ। यस अवधिमा देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।
दार्चुलाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–कटान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि प्रशासनले नागरिक तथा सम्बन्धित निकायहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक उक्त अवधिमा घरबाहिर टाढाको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, नदी किनार, खोला तथा भीरपाखा जस्ता बाढी र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा नजान पनि सचेत गराइएको छ।
नदी, खोला, खहरे नजिक तथा भीरमुनि रहेका बस्तीका बासिन्दालाई वर्षा भइरहेका बेला विशेष सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न तयारी अवस्थामा रहन प्रशासनले अनुरोध गरेको छ।