बाजुरा-बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर बिरामी हुनुभएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा हुनुहुन्छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उहाँकी श्रीमती ५० वर्षीया नामसरी थापाले जङ्गली च्याउ खाएपछि बिरामी हुनुभएको थियो।
बिरामी दुवै जनालाई राति करिब ११ बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालमा चिकित्सकले परीक्षण गर्दा रामे थापालाई मृत घोषणा गरेका थिए। नामसरी थापाको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक रामे थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको सूचना अधिकारी शाहीले बताउनुभयो।