उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मेलौली नगरपालिकाको नगदसहित सम्मान

बैतडी–बैतडीको मेलौली नगरपालिकाले कक्षा ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।
२०८२ सालको कक्षा ८ को परीक्षा, २०८१ सालको एसईई र २०८२ सालको कक्षा १२ को परीक्षामा नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको नगरपालिकाकी शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीले बताइन् ।

शैक्षिक सत्र २०८२ को कक्षा ८ को परीक्षामा प्रथम भएका शीतलपुर मावि शीतलपुरका सचिन धनाडीलाई २० हजार नगदसहित सम्मान गरिएको छ । दोश्रो भएका शीलतपुर मावि शीतलपुरका उर्मिला नेगी लाई १५ हजार र तेश्रो भएका कमलपुर मावि कोटीगाउंका प्रवेश ठगुन्नालाई नगद १० हजारसहित सम्मान गरिएको शिक्षा शाखाका कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले बताए ।

यस्तै २०८१ को एसईईमा पालिकाभरी प्रथम भएका शीतलपुर मावि शीतलपुरका प्रशान्त सिंह विष्ट लाई ३५ हजार, दोश्रो भएकी शितलपुर माविका सागर नेगीलाई नगद ३० हजार र तृतीय भएका दुर्गा मावि खलिगाडका पदम जोशीलाई नगद २५ हजारसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै २०८२ मा कक्षा १२ को परीक्षामा पालिकाभरी प्रथम भएका मणिलेक माविका सागर भट्ट लाई ३५ हजार, दोश्रो भएका सोही विद्यालयका शुसान्त सिंहलाई ३० हजार र तेश्रो भएका दुर्गा मावि खलिगाडका योगेश भट्टलाई २५ हजार नगदसहित सम्मान गरिएको कम्प्युटर अपरेटर नायकले बताए।

विद्यार्थीहरुको हौसला बढाउन नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गर्ने गरेको नगर प्रमुख भीमबहादुर चन्दले बताए ।

गएको तिन बर्षदेखि नगरपालिकाले नगर क्षेत्रभित्रका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले बताए ।

यसै अवसरमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा विभिन्न खेल विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरूलाई पनि  पुरस्कार तथा सम्मानपत्र सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले शिक्षा र खेलकुद दुवै क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.