शर्माली स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको शिवनाथ गाउँपालिका–२ स्थित शर्माली स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का वडाध्यक्ष सुरेन्द्र सिंह साउदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख रमेशराम तिर्वाले आर्थिक वर्ष २०८२र०८३ मा स्वास्थ्य संस्थाबाट प्रदान गरिएका सेवा, सञ्चालन भएका कार्यक्रम तथा वित्तीय तथा भौतिक प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रममा नागार्जुन माध्यमिक विद्यालय शर्मालीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णसिंह साउद, प्रधानाध्यापक गोपालसिंह महता, शर्माली प्रहरी चौकीका प्रमुख, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइसँगै विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपानको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सो अवसरमा एक हजार दिने आमालाई लक्षित गर्दै सरसफाइ प्रवर्द्धनका लागि ४५ जनालाई हात धुने साबुन वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख तिर्वाले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता थप सुधार गर्न सुझाव दिएका थिए। सार्वजनिक सुनुवाइले स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.