बैतडी–पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थी पढाइसँगै सामाजिक कार्यमा सक्रिय भएका छन् । विद्यालयले हरेक शनिबार विद्यार्थीको सहभागितामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
‘म बाँच्छु देशको लागि, म गर्छु समाज सेवा’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानमा कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी हुने गरेका छन् । सरसफाइ, बाटोघाटो निर्माण तथा पानीका मूल र धाराको सरसफाइजस्ता काम विद्यार्थीले गर्दै आएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटका अनुसार २०७९ कात्तिक १९ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म ६ सय २० वटा सामाजिक कार्य सम्पन्न भइसकेका छन् । विद्यार्थीलाई सामाजिक सेवाको व्यवहारिक ज्ञान दिन अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
पढाइका साथसाथै सामाजिक कार्यमा समेत सहभागि हुन पाउँदा विद्यालयका विद्यार्थीहरु पनि खुसी भएका छन् । सामाजिक कार्यमा सरीक हुन पाउँदा आफूहरुलाई निकै खुसी लागेको विद्यार्थीहरुले बताएका छन् ।