बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमि बैंक स्थापना गर्न स्वीकृति प्राप्त भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पञ्चेश्वरसहित चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।
भूमि बैंक मार्फत गाउँपालिकाभित्र रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान र अभिलेखीकरण गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने व्यवस्था हुनेछ।
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बाँझो जमिनलाई उत्पादनसँग जोड्दै कृषि उत्पादन र रोजगारी वृद्धि गर्न भूमि बैंक महत्वपूर्ण हुने बताए ।
स्थानीय भूमि व्यवस्थापन सहजकर्ताका रूपमा काम गर्दै आउनु भएका नरीराम लोहारले भूमि बैंक स्थापना भएपछि बाँझो तथा उपयोगविहीन जग्गाको पहिचान र व्यवस्थापनमा सहजता हुने जानकारी दिए ।
भूमि बैंकमार्फत साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै कृषि उत्पादनमा जोड्ने योजना रहेको छ।