बैतडी-गृह मन्त्रालयले बैतडीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी उपसचिव मिना अर्याललाई दिएको छ। मन्त्रालयले गरेको निर्णयअनुसार हालका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई संखुवासभाको प्रजिअमा सरुवा गर्दै उहाँको स्थानमा अर्याललाई बैतडीको जिम्मेवारी दिइएको हो।
उपसचिव अर्याल यसअघि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनुभएको थियो। तर डडेल्धुरामा उपसचिव तहकै प्रमुख जिल्ला अधिकारी कार्यरत रहेकाले उहाँको सरुवा तत्काल कार्यान्वयन हुन सकेको थिएन। त्यसपछि उहाँ गृह मन्त्रालयमै रहनुभएको थियो।
पछिल्लो निर्णयसँगै अर्यालले अब बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक सेवा तथा विपद् व्यवस्थापनलगायतका विषयमा समन्वय गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ।
यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। डा. भट्टराई गत चैतमा बैतडीको प्रजिअका रूपमा हाजिर हुनुभएको थियो।