बैतडी-बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भाद्र संक्रान्तिका अवसरमा ओल्के पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।
ओल्के पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकलाई फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड तथा विभिन्न परिकार ओल्को अर्थात् कोसेलीका रूपमा दिने चलन छ । यस दिन बिहानै नुहाइ धुवाइ गरी नयाँ कृषि उपज तथा पकवान तयार गरी आफन्त र मान्यजनकहाँ भेटघाट गर्ने परम्परा रहेको छ।
बैतडीका विभिन्न मन्दिर तथा शक्तिपीठमा नयाँ मकै लगायतका कृषि उपज चढाउने चलन समेत रहेको छ । यस्तै ओल्के पर्वमा विवाहित छोरी–बहिनी माइती घरमा आउने तथा मिठोमसिनो खाने प्रचलन पनि रहेको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन् ।
ओल्के संक्रान्तिका दिन सुदूरपश्चिमका विभिन्न ठाउँमा ‘बुढी’ हाल्ने प्रचलनसमेत रहेको छ । गाउँनजिकैका टाकुरामा रूखका हाँगाबिँगा तथा झ्याङ थुपारेर बुढी हाल्ने र असोज संक्रान्तिका दिन सामूहिक रूपमा पोल्ने परम्परा रहेको छ ।
ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।