बाजुराको बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा– बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न मुख्य पूजाअघि नै पूजा सुरु गर्ने निर्णय गरिएको हो।

बडीमालिका भगवती मन्दिरका मुख्य पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ। एकै दिन अत्यधिक भीड हुने भएकाले अगावैदेखि पूजा सुरु गरिएको उनले बताए। गत वर्ष बडीमालिका मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए।

बडीमालिकामा बाजुरासहित देशका विभिन्न जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजासामग्रीसहित सरकारी टोली आउने परम्परा रहेको छ। डोटीबाट सरकारी पूजासामग्रीसहितको टोली यसअघि नै बडीमालिकातर्फ प्रस्थान गरिसकेको छ।

यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ। नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि धार्मिक तथा पर्यटकीय आकर्षण बढेको स्थानीयको भनाइ छ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले मेला तथा पूजा व्यवस्थापनका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले आवश्यक तयारी गरिरहेको बताए। मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको उनले जानकारी दिए।

मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिने र धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तु निषेध गरिने भएको छ। दर्शनार्थी बिरामी परे वा आपत्कालीन उद्धार आवश्यक परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ।

यसैबीच बडीमालिका क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। मौसम खराबीका कारण उपकरण ढुवानीमा ढिलाइ भए पनि मेला अगावै सञ्चार सुविधा उपलब्ध गराउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। त्रिवेणी, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वारलगायत क्षेत्र बडीमालिकाका प्रमुख आकर्षणका रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.