मकवानपुर जिप दुर्घटनामा घाइते रजिष्ट्रारकी पत्नी लक्ष्मी बडूको मृत्यु

बैतडी-मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा भएको जिप दुर्घटनामा घाइते बैतडीकी लक्ष्मी बडूको उपचारका क्रममा मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका–७ सुर्कालकी ४९ वर्षीया बडूलाई दुर्घटनापछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बडू उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडूकी पत्नी हुन्।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका –६ जुरीखेलमा सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

जिपमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडू, उनकी पत्नी लक्ष्मी, छोरा रितेन्द्र बडू र छोरी रिता बडूसहित चालक छुनिलाल चौधरी सवार थिए।

दुर्घटनामा मुख्य न्यायाधीश डाँगी, रजिष्ट्रार बडू, उनका २५ वर्षीय छोरा रितेन्द्र र ३१ वर्षीया छोरी रिता घाइते भएका छन्। घाइतेमध्ये जनस्वास्थ्य निरीक्षकसमेत रहेकी रिताको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। चालक चौधरी पनि घाइते भएका छन्।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.