जनचेतना आधारभूत विद्यालयको २९औँ वार्षिकोत्सव सम्पन्न

बैतडीको मेलौली नगरपालिका–१ गंगापुरमा रहेको जनचेतना आधारभूत विद्यालयको २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीका प्रतिभा तथा सिर्जनात्मक क्षमतासँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रसिंह नेगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक सदस्य दीपकसिंह नायक प्रमुख अतिथि रहेका थिए। यस्तै, मेलौली नगरपालिका–१ का वडा सदस्य द्रोपती नायकलगायत अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार विद्यालयको कुल आय ३७ लाख २९ हजार १ सय २८ रुपैयाँ रहेको छ भने कुल खर्च ३६ लाख ९६ हजार १ सय ४६ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै, कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको प्रधानाध्यापक नायकले बताउनुभयो। वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीका प्रतिभा र विद्यालय तथा अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालयको आगामी शैक्षिक गतिविधि तथा विद्यार्थीको सर्वाङ्गीण विकासका विषयमा समेत छलफल गरिएको थियो। विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमसहित आयोजित वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

Leave A Reply

Your email address will not be published.