बैतडी : सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान मेलौली बैतडीले विपद् प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
देशमा आएको विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानले सञ्चालन गरेको विपद् आर्थिक सहयोग अभियानमार्फत संकलित रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जित दयालले जानकारी दिनुभयो। प्रतिष्ठानले विपद्को घडीमा मानवीय सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै ‘मौन बस्नु मानव धर्म होइन, दुःखमा साथ दिनु नै हाम्रो पहिचान हो’ भन्ने मूल भावनाका साथ दयाल बन्धुहरूबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।
अभियानमार्फत संकलित ५१ हजार रुपैयाँ कोषमा जम्मा गरिएको अध्यक्ष दयालले बताउनुभयो। विपद्का बेला आर्थिक, नैतिक तथा भावनात्मक सहयोग गर्दै अभियानलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण दयाल बन्धु तथा सहयोगीहरूप्रति प्रतिष्ठानले धन्यवाद व्यक्त गरेको छ। आपत्विपद्मा देखिएको एकता, सद्भाव र मानवीय सहयोगले पीडितलाई राहत पुग्नुका साथै समाजमा आपसी सहयोग र सहकार्यको भावना थप बलियो बन्ने प्रतिष्ठानको विश्वास छ।
विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु मानवीय धर्म र सामाजिक उत्तरदायित्वसमेत भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ। सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठानको केन्द्रीय समितिले सहयोग अभियानमा सहभागी भई हातेमालो गर्ने सबैप्रति आभार व्यक्त गर्दै विपद् प्रभावित नागरिकको दुःखमा साथ दिन सबैलाई एकजुट हुनसमेत आग्रह गरेको छ।