पुस ७, २०७९
बैतडी – जिल्लाको पाटन नगरपालिका ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहादुर बिष्ट हत्या प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै शिक्षकका पेशागत संघसंगठनले आज जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरेका छन्। बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै ९आज० बिहीबार जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरिएको संघर्ष समितिका सहसंयोजक लक्ष्मण बोहराले बताए ।
सुर्नया गाउँपालिका २ घर भएका शिक्षक बिष्टको हत्यामा संलग्नको पहिचान भएको भन्ने खबर बाहिर आएपनि आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी रहेकाले विद्यालय बन्दको कार्यक्रम यथावत रहेको उनले बताए ।
शिक्षक बिष्टको शव अझै आफन्तहरुले बुझि नसकेको अवस्था र घटनाका दोषी पनि सार्वजनिक हुन बाँकी रहेकाले पूर्वघोषित कार्यक्रम यथावत रहेको बोहराले बताए ।
कृष्ण मावि पाटनमा २०४८ सालदेखि अध्यापन गराउँदै आएका शिक्षक बिष्ट पौष २ गते शनिबारका दिन मृत अवस्थामा भेटिएका थिए । उनको हत्या नै भएको प्रहरीको निष्कर्ष रहेको छ । सीआइबीको टोली सहित अनुसन्धानमा खटेको प्रहरीले शिक्षक बिष्टको हत्या भएको र त्यसका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । घटनाको अझै पनि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।