बैतडी- सुदुरपश्चिम प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदुरपश्चिमले लगातार दोस्रो जित निकालेको हो ।
गण्डकीले दिएको ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर ६३ रन जोड्दै पूरा गर्यो । सुदुरको जितमा कप्तान बिन्दु रावलले ४६ रनको इनिङ खेलिन् । सोभा रोकायाले ८ रन तथा यशोदा विस्टले २ रन जोडिन ।
गण्डकीका निरुता जिटीले १ विकेट हात पारिन् ।त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर ६० रन जोडेको थियो । गण्डकीका लागि सिमाना केसीले १३ रन जोडिन । सिर्जना पौडेल र श्रीष्टि जैसीले ९र९ रन जोडिन ।
सुदुरका मनिषा चौधरीले ४ विकेट हात पारिन् । यस जितसँगै समूह ुएु को सुदुरले २ खेलमा ४ अंक जोडेको छ ।
सुदुर दोस्रो स्थानमा रहेको छ । गण्डकीको यो लगातार दोस्रो हार हो । प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०र२० हजार पाउनेछन् ।