लोप हुदैं: ढिँकी,जाँतो, घट्ट र कोल

बैतडी – विद्युत सेवा विस्तार भएसँगै गाउँका टोलटोलमा समेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल बैतडीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन। जिललाका प्रायःगाउँमा विद्युत सुविधा पुगेको र गाउँमा नै कुटानीपिसानी मिल सञ्चालन हुन थालेकाले ग्रामीण जीवनको पहिचान बोकेका रैथाने प्रविधिबाट निर्माण गरिने कुटानीपिसानीका परम्परागत साधन लोप हुने अवस्थामा पुगेका हुन । आधुनिक प्रविधिका साधन प्रयोग गर्न सजिलो र समयको बचतका साथै मानिसमा बढ्दै गएको सुविधाभोगी प्रवृत्तिका कारण ग्रामीण जीवनको सौन्दर्यका रुपमा चिनिएका यस्ता रैथाने प्रविधि हराउँदै जान थालेका गाउँका वृद्धवृृद्धा बताउँछन ।

घण्टौं लगाएर ढिँकी,जाँतो चलाएर कुट्ने, पिस्ने गर्नुभन्दा सस्तो दरमै मिलमा लगेर छोटो समयमा नै धेरै अन्न सजिलैसँग कुट्न, पिस्न सकिने भएकाले गाउँघरबाट समेत परम्परागत कुटानी पिसानीका साधन लोपहुँदै गएका पाटन नगरपालिका–१ का भागरथी वि.क ले बताउनुभयो । उँहाले भन्नुभयो, “धान, गहुँ, कोदो, र पिठोका लागि ढिँकी, जाँतोकोे प्रयोग हुने गथ्र्यो तर अत्याधुनिक प्रविधिले परम्परागत ढिँकी, जाँतो प्रयोग गर्ने चलन हराइसक्यो ।” उहाँले भन्नुभयो, “ढिँकी जाँतोको के कुरा गर्ने, अहिले त गाउँका मिलसमेत बन्द हुने अवस्थामा पुगिसको, अनुदान पनि पाइने साथै थोरै लगानीमा पनि घरमै राख्न मिल्ने भएकाले घर घरमै पनि मिल राख्न थालिएको छ ।”

जिल्लाका ग्रामीण क्षेत्रका पुराना केही घरमा ढिँकी, जाँतो देखिए पनि ती प्रयोगमा नआउदा अलपत्र अवस्थामा पुगेका छन । पाटन —१ अर्का नारु चन्दले आफूले जान्ने भएदेखि ६०÷६५ वर्षको उमेरसम्म ढिँकी जाँतोबाटै कुटानी पिसानी गरी अन्नको जोहो गर्दै आएको अनुभव सुनाउनुभयो ।“अहिलेजस्तो त्यतिबेला टोल टोलमा र घरघरमा मिल र मिक्चर थिएनन, धान कुट्न र गहुँ, कोदो, मकै लगायत अन्न पिस्न ढिँकी जाँतोको नै प्रयोग गर्नुपर्दथ्यो । राति खाना खाएर घरका अरु मान्छे सुतेपछि बुहारीहरु ढिँकी जाँतोमा अनि बिहान सबेरै उठेर पनि ढिँकी जाँतोमै हुन्थे । हाम्रो आदी जिन्दगी त ढिँकी जाँतोमा नै बितेको हो ।” विगतमा गाउँका मानिस बर्खायाम सुरु हुनुभन्दा अगाडि निकै फुर्सदिला हुन्थे र एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिँकी जाँतोमा अन्न कुट्ने पिस्ने गर्दथे, तर त्यो पनि अहिले किबंदन्ती जस्तै बन्दै गएको गामती भ्टटराईले बताउनुभयो । पाटन ५ कद्धारमा कुटानीपिसानीको मिल सञ्चालन गर्दै आउनुभएका राइस मिलका सञ्चालक पदम भट्टले ढिँकी जाँतो होइन गाउँ–गाउँमा पनि मिल सञ्चालनमा आएकाले अहिले त यो मिलमा कुटानीपिसानी गराउन आउनेको सङ्ख्यासमेत घटेको बताउनुभयो ।

“आधुनिक कुटानीपिसानी मिलबाट समय र श्रमको बचत हुने भएपछि पुराना ढिँकी जाँतो पनि हराउँदै गए । मिल आएपछि समय र श्रम दुबैको बचत भएको छ” पाटन १ बल्लासांैकी जुनकीडी चन्दले भन्नुभयो । अत्याधुनिक प्रविधिका गाउँगाउँमा मिल खुल्नु र अहिले गाउँघरमा ढिँकी जाँतो गर्ने मनिस पनि नहुने भएकाले यस्ता परम्परागत शैली र पहिचानका सामग्री लोपहँुदै जान थालेको उहाँको भनाइ थियो । परम्परागत रैथाने प्रविधिका साधन लोप हुनाका साथै एकापसको सौहार्दता, सामूहिकता र आत्मियता पनि हराउँदै गयो । सुविधाभोगी प्रवृतिका कारण पूर्खाको सीप र साधन त हराए हराए, आपसी सम्बन्ध पनि टाढिन पुगेको यहाँका बुढापाकाले बताए ।

नागरीकलाई विकास र आयआर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि युवा पुस्तालाई कृषि र पशुपालनतर्फ रुचि नभएका कारण परम्परागत पेशालाई व्यवसायिक बनाउन नसकिएको पाटन नगरपालिका वडा न.१ का वडा अध्यक्ष तर्क ठगुन्नाले बताए । गाउँ ठाउँमा आर्य आर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याए पनि किसानकै उदासिनताका कारण कार्यक्रमहरु लाभदायी हुन नसकेको उहाँको भनाइ थियो ।
उहाँका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आय आर्जनमूलक कार्यक्रम मार्फत यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावना छन ।

Leave A Reply

Your email address will not be published.