डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित युवतीलाई सामूहिक बलात्कार गर्ने चार जनालाई बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो।
पीडित युवतीको गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ। भदौ ३० गते भागेश्वरमा सञ्चालित स्वास्थ्य शिविरमा युवतीको स्वास्थ्य परीक्षण गर्दा उनी गर्भवती भएको खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए।
ती युवतीलाई चारैजनाले सामूहिक रुपमा जबरजस्तीकरणी गरेको खुलासा भएपछि उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाँउका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। उनीहरूले गत वैशाख महिनामा विवाहित ती युवतीलाई सामूहिक रूपमा जबरजस्तीकरणी गरेका डीएसपी कार्कीले बताए।
पीडित युवतीका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते बाँझो घरको गोठमा बेलुकीको समयमा गरी दुईपटक ती युवतीमाथि बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए।
बलात्कार आरोपमा पक्राउ परेका चारैजनामाथि जिल्ला डडेल्धुराबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।