डडेल्धुरा-धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री दाहाल शुक्रबार बिहान नियमित हवाई उडानबाट धनगढी आउँदै छन् ।
मध्याह्न साढे १२ बजे महोत्सव उद्घाटन कार्यक्रम तय गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । सो क्रममा प्रधानमन्त्रीलाई सुदूरपश्चिमको विकाससँग सम्बन्धित १० बुँदे मागपत्र बुझाउने संघको तयारी छ । महोत्सव उद्घाटनमा सरकार प्रमुख, राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेर सुदूरपश्चिमको विकासमा ध्यानाकर्षण गराउने परम्परालाई यसवर्ष पनि निरन्तरता दिन लागिएको अध्यक्ष कुँवरले बताए ।
धनगढीसँग जोडिएको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गर्नुपर्ने, सुदूरपश्चिममा प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, उद्योग स्थापनामा प्रोत्साहन गर्न सुदूरपश्चिमलाई १० वर्षसम्म करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग संघले अघि सारेको छ । त्यस्तै, यहाँ विशेष औद्योगिक क्षेत्र स्थापना, चीनसँगका नाका खोल्नुपर्ने, पश्चिम सेती आयोजनाको निर्माण, कृषि विश्वविद्यालय र सूचना प्रविधि केन्द्र स्थापनालगायतका मागहरू प्रधानमन्त्रीसमक्ष राखिने अध्यक्ष कुँवरले बताए ।
संघले १७ वर्षदेखि बर्सेनि गर्दै आएको महोत्सवमा राष्ट्रप्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिलाई बोलाएर सुदूरपश्चिमको विकाससँग सम्बन्धित मागपत्र बुझाउँदै आएको छ । संघले महोत्सवको सुरुवातका वर्षमा तत्कालीन सरकार प्रमुखलाई आमन्त्रण गरेर २१ बुँदे मागसहित २१ किलोको माला पहिर्याएको थियो । २१ मध्ये हालसम्म पाँचवटा माग पूरा भएका र छवटा माग आंशिक पूरा भएका अध्यक्ष कुँवरले बताए ।
महोत्सवले सुदूरपश्चिमको विकासमा राज्यको ध्यानाकर्षण गराउनुका साथै यहाँका सम्भावनाको उजागर गर्न र कला, संस्कृतिको संरक्षणमा योगदान गर्दै आएको संघको दाबी छ । पछिल्लो समय आर्थिक, सामाजिक कारणले प्रतिकूल अवस्थाबाट गुज्रिरहेको व्यापार व्यवसायलाई पुनर्स्थापित गर्न पनि महोत्सव सहयोगी साबित हुने उनले दाबी गरे । १० दिनसम्म सञ्चालन हुने महोत्सवलाई साढे छ लाख व्यक्तिले अवलोकन गर्ने संघको अनुमान छ ।