खेलाडी छनौटमा कुनै दबाव र प्रभाव नराख्न क्यानका अध्यक्ष चन्दको आग्रह

बैतडी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनौटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गर्नुभएको छ। बैतडीमा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनौटमा कसैले पनि दबाव र प्रभाव नराख्न आग्रह गर्नुभएको हो।

खेलाडीहरू देशका लागि खेल्ने भएकोले उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनौट गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,ू राम्रो प्रदर्शन गर्ने खेलाडी स्वतः छनौटमा पर्छन्,छनौटका लागि सबै तहमा क्यानले समिति बनाएको छ।

खेलाडीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने बताउदै अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यानले काम गरिरहेको बताउनुभयो। यसका साथै क्रिकेट पुर्वाधार निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, क्रिकेटबाट नेपाललाई विश्वले चिनेको छ। देशमा पुर्वाधार अझै बन्न सकेका छैनन्, यसका लागि सरकारको ध्यान जरूरी छ।

कार्यक्रममा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले क्रिकेट मनोरञ्जनका लागि मात्रै नभएर देशलाई राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमै चिनाउन सफल भएको बताउनुभयो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बैतडी क्रिकेटको उर्वरभूमी रहेको बताउदै यहाँबाट थुप्रै खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका बताउनुभयो।

Leave A Reply

Your email address will not be published.