नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह संविधानको धारा ७६ को उपधारा २ अन्तगृत ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। नेपाली कांग्रेसको समर्थनमा ७३ वर्षिय ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न सफल हुनुभएको हो।
नवनियुक्त प्रधानमन्त्री ओलीलको पद तथा गोपनीयताको सपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
गत शुक्रबार प्रतिनिधिसभामा भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा पुष्पकमल दाहालले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले आइतबार अपरान्ह ५ बजेभित्र सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । त्यसलगत्तै कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।
सोमबार सपथ ग्रहणसँगै मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ ।
