बैतडीमा घरपालुवा पशुपन्छीहरुका लागि पूर्ण खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका दशओटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन हुने भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए।
पशुधनको सुरक्षाका लागि पूर्ण खोप अभियान सञ्चालन गर्ने तयारी भएको उनले बताए। पूर्ण खोप अभियानका लागि जिल्लाभरी २५ जना प्राविधिकहरु खटाइने भएको छ।
पूर्ण खोप अभियानमा परिचालन हुने प्राविधिकहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गरिएको र यसै महिनाबाट खोप अभियान सञ्चालन हुने पन्तले बताए। अभियान अन्तर्गत गाईभैंसीलाई खोरेत विरुद्धको एफएमडी खोप र लम्पीस्कीनविरुद्धको एलएसडी खोप दिइने छ। यस्तै बाख्राहरुलाई पीपीआर विरुद्धको खोप दिइनेछ भने कुखुरालाई रानीखेतविरुद्धको खोप दिइनेछ।
जिल्लाभरी १ लाख बाख्रा, ३० हजार गाईभैसी र ६० हजार कुखुरामा खोप लगाउने लक्ष्य रहेको छ। आगामी फागुन महिनासम्म सञ्चालन हुने अभियानमा सहयोग गर्न भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सबैलाई आग्रह समेत गरेको छ।
विभिन्न रोगहरुविरुद्ध खोप दिइने भएकाले खोप अभियानले पशुधनको सुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ। व्यवसायिक पशुपालनमा लागेका किसानहरुले बेला–बेलामा विभिन्न रोगका कारण क्षति व्यहोर्नुपरेकाले त्यस्तो नहोस भनेर खोप अभियान सञ्चालन गर्न लागिएको पन्तले बताए।