तातो मौसमको असर: अण्डा उत्पादन कम, बजार मूल्य महँगियो

गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय १५ रुपैयाँ र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ। सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ।

यसअघि ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र मध्यम अण्डा ४ सय ३५ रुपैयाँ थियो। दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ।

संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरापालन पेशाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताउनुभयो।

अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन्।

Leave A Reply

Your email address will not be published.