बैतडी प्रहरी सक्रिय, एक महिनामा ८ फरार प्रतिवादी नियन्त्रणमा

बैतडीमा एक महिनाको अवधिमा ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मितिमा सजाय तोकिएका तर फरार रहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए। गएको वैशाख महिनामा जिल्ला अदालतबाट सजाय तोकिएका तीन जना र जिल्ला प्रशासन कार्यालयबाट सजाय तोकिएका पाँच गरेर आठ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बडूले बताए।

जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान समेत सञ्चालनमा ल्याएको छ। अदालत र प्रशासनको फैसला कार्यान्वयनका लागि प्रहरीले सक्रियता बढाएको हो। फरार प्रतिवादीहरुबाट तोकिएको जरीवाना असुल गर्नुका साथै कैद भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक बडूले बताए।

यस्तै एक महिनाको अवधिमा चालु मुद्दाका पनि आठ जना प्रतिवादी पक्राउ परेका छन्। चालु मुद्दाका एक जना प्रतिवादी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.