नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो।
पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उहाँलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषय भविष्यको कुरा भएको बताउनुभयो। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उहाँको भनाइ छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो चुनावको परिणाम र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको जानकारी दिनुभयो ।
बैठकमा महासचिव भट्टले ११ वटा कार्यसूची प्रस्तुत गर्नुभएको थियो। कार्यसूचीमा पदाधिकारीहरूको वरीयताक्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवम् सदस्यहरूको कार्यविभाजन रहेका छन्। एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे छलफल गरेको छ।
यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, चुनावी समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र सङ्गठन विभागको विस्तारजस्ता प्राविधिक तथा साङ्गठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो।
एमाले सचिवालयको अर्को बैठक आउँदो शुक्रवार जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमै बस्ने तय भएको छ।