बैतडी-बैतडीको पुर्चौंडी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक लाख ५० हजार सहयोग गर्ने भएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नगरपालिकाका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो।
यस्तै, नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको पाँच दिन बराबरको तलबसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो। सोमबार बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो।
यसअघि बैतडीका दशरथचन्द नगरपालिकाले ३ लाख, पाटन नगरपालिकाले २ लाख ५० हजार, शिवनाथ गाउँपालिकाले २ लाख, दोगडाकेदार गाउँपालिकाले २ लाख, पञ्चेश्वर गाउँपालिकाले रु तीन लाख, मेलौली नगरपालिकाले २ लाख र सिगास गाउँपालिकाले १ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन्।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय तहहरूले कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्।