बुडालको शव भेटिएको ठाउँ नजिकै भेटियो बिस्फोटक पदार्थ

बैतडी -बैतडीमा जीवन बुडाल मुत्यु प्रकरणमा प्रहरीले १२ जना शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।अनुसन्धानको क्रममा शव भेटिएको ठाउँभन्दा केही पर बस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए। ‘अनुसन्धानको क्रममा बम बनाउन प्रयोग हुने बिस्फोटक पदार्थ फेला परेको छ। पक्राउ परेका १२ जनामाथि नै बिस्फोटक पदार्थ कसुरसम्बन्धी पनि मुद्दा दर्ता हुन्छ,’ उनले भने।

उनका अनुसार घटनास्थलको केही किलोमिटर पर फेला परेको बिस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका थिए। दशरथ चन्द नगरपालिका–१० खडेनीका बुडाल फागुन १३ गते दोगडाकेदार ४ जाडाबगर चमेलिया नदीको किनारमा मृत फेला परेका थिए।

त्यो दिन बिहान उनी साथीहरूसँग पिकनिक मनाउन गएका थिए। हत्या भएको भन्दै बुडालसँगै पिकनिक मनाउन गएका १२ जनामाथि परिवारले किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीको सिआइबीको टोली पनि बैतडी पुगेको छ। घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने भन्दै बुडालका आफन्तले अहिलेसम्म शव बुझ्न मानेका छैनन्।

Leave A Reply

Your email address will not be published.