आज तराई–मधेशमा होली

काठमाडौं -तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ।काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ।

तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ। रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन्।पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ।​यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ।

यी प्रसंगलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ। ​होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.