बैतडी -बैतडीका किसानहरुले पालेका गाई तथा भैसीमा लम्पी स्कीन रोगको प्रकोप व्यापक रुपमा देखिएको छ । जिल्लाको शिवनाथ र सुर्नया गाउँपालिका तथा मेलौली नगरपालिकाका अधिकांश ठाउँमा यो प्रकोप देखिएको स्थानिय किसानहरुले बताएकाछन् ।
दैनिक १५देखी २०पशुमा उक्त प्रकोप देखा परिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका डाक्टर विसाल पाठकले बताए ।
उनले भने,‘यो भाइरसबाट सर्ने रोग हो । यसको खोप नेपालमा उपलब्ध छैन्, खोप परिक्षणको क्रममा रहेको छ । यो रोग लागेपछी पशुहरुमा उच्च ज्वरो आउने, ५०देखी ८० प्रतिशत दुध उत्पादन घट्ने, पशुहरुको सरीरको तल्लो भाग सुन्नीने, गिर्खाहरु देखिने, व्याउने पशुहरु तुहिने तथा बाझोपन देखीने समस्या हुन्छ । यसका लक्षणहरुको उपचार गर्ने गरेका छौँ । अधिकांश पशुहरु निको भैरहेकाछन् ।’
लम्पी स्कीन रोगको प्रकोप लामखट्टुे, झिंगा तथा किर्नाको टोकाइबाट हुने गरेको भेटेरेनरी अस्पतालले जनाएको छ । उक्त रोग दार्चुला जिल्लाका पनि केहि ठाउँमा देखिएको किसानहरुले बताएकाछन् ।
लम्पी स्कीनको संक्रमण फैलन नदिन लामखुट्टे, झिंगा र किर्नाको टोकाईबाट पशुहरुलाई बचाउनु पर्ने डाः पाठकको भनाई छ । पशुहरुमा समस्या देखिएमा पशुसेवा विज्ञ केन्द्र वा पशु प्राविधिकलाई सम्पर्क गर्न उनको आग्रह छ ।