बैतडी- क्षतिपूर्ति माग गर्दै आन्दोलित भएका जिप दुर्घटनामा ज्यान गुमाएका आफन्तले शव बुझेका छन्। यसपछि राजमार्ग पनि सञ्चालनमा आएको छ।
मृतकका आफन्तले शव बुझेर लगेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनले भने, ‘जिपका साहु सम्पर्कमा आएका छन्, मृतकका आफन्तले शव बुझेर लगेका छन्। दुवै पक्षबीच बझाङमै कुराकानी गर्ने गरेर शव बुझेका हुन्। केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति दिने कुरा गरेको छ।’खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका(८ को झौलेक मोडमा मंगलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाउने सबै बझाङको केदारस्युँ गाउँपालिका(५ का रहेका थिए।
आवश्यक क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै बझांगबाट आएका उनीहरुले घटनास्थलमै आन्दोलन गरिरहेका थिए। बुधबार बिहानैदेखि राजमार्ग ठप्प पारेर क्षतिपूर्ति नमिले शव नबुझ्ने अडान लिएका थिए। यसका साथै उनीहरुले जिप साहु र दुर्घटनालगत्तै फरार रहेका चालकलाई सम्पर्कमा ल्याउनुपर्ने माग पनि राखेका थिए।जिपका साहु, चालक र मृतक एउटै गाउँपालिकाका हुन्। मृतकहरूका शवको परीक्षण देउलेक स्वास्थ्य चौकी गरिने प्रहरीले जनाएको छ।
दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका(५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य ५ जनाले हाम्फालेर ज्यान बचाएका थिए।
भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन्।ओभरलोड रहेको जिप उकालोमा एक्कासी ब्याक भएर दुर्घटनामा परेको थियो। जिप सडकबाट ५ सय मिटर तल खसेको थियो। जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ।जिपचालक अर्जुन बोहरा दुर्घटनापछि फरार रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।