बैतडी -बैतडी शिवनाथगाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले गाउँपालिकाको वडा नम्बर ६ स्थित सुल्लेखानमा अस्पतालको शिलान्यास गरेका हुन ।
अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट १० शैयाको अस्पताल भवनको शिलान्यास भएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले जानकारी दिए । राष्ट्रिय स्तरको इ–बिडिङ बोलपत्र माग गरिएको अस्पताल निर्माणका लागि कूल ७ करोड ३ लाख ७४ हजार २ सय ४९ रुपैयाँ ५२ पैसा (भ्याटसहित) के एस मित्र जेभी निर्माण कम्पनी संग अस्पताल १ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको महताले बताए ।
अस्पतालको शिलान्यास गर्दै अध्यक्ष सांउदले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको बताए ।शिवनाथका सबै वडाहरूलाई पायक पर्ने स्थान भएकाले सो स्थानमा अस्पताल निर्माणको थालनी गरिएको उनले बताए ।अस्पताल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग उनले आग्रह गरे ।।अध्यक्ष सांउदले अस्पताल निर्माण पश्चात यसको पूर्वाधारका लागि पनि आफूहरूले पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।उहाँले १० शैय्याको अस्पताल निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारका लागि सहज हुने बताउनु भयो ।